काठमाडौँ — राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतकको संख्या ३६ पुगेको छ। मंगलबार सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले विराटनगर किङ्सविरुद्ध ४४ बलमा अर्धशतक पूरा गर्दै सिजनको कुल संख्या ३६ बनाएका हुन्।
एक छक्का र तीन चौकासहित ५० रन प्रहार गरेका भण्डारीको यो जारी सिजनको दोस्रो फिफ्टी हो।
यस सिजनमा ३६ अर्धशतक २९ खेलाडीले प्रहार गरेका छन्। चितवन राइनोजका रवी बोपराले तीन फिफ्टीसहित सबैभन्दा बढी अर्धशतक बनाएका छन्। पोखरा एभेन्जर्सका कुशल भुर्तेल, एडम रोसिङटन, सञ्जय कृष्णमूर्ति तथा कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक हिर्काएका छन्।
त्यस्तै, एक–एक अर्धशतक प्रहार गर्ने खेलाडीमा सुदूरपश्चिमका जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, ईशान पाण्डे, विराटनगरका लोकेश बम, साम हेजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित वर्मा, जिमी निशाम, रिसी धवन, चितवनका डेविड मलान, अर्जुन साउद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेख रहेका छन्।
जारी सिजनमा अहिलेसम्म कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटन ले मात्र शतक प्रहार गरेका छन्।

