काठमाडौँ । काठमाडौँ उपत्यकामा तापक्रम थप घट्दै जाँदा चिसो थप बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ।
महाशाखाले जनाएअनुसार यो प्रारम्भिक मापन मात्र भएकाले बिहान ८:४५ बजे पुनः मापन गर्दा तापक्रम अझै घट्न सक्ने सम्भावना छ।
यसअघि शनिबार पनि सुरुवाती मापनमा न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस रहेकामा बिहान ८:४५ बजे ४.५ डिग्रीमा झरेको थियो। सो दिन सबैभन्दा तल पुगेको तापक्रम नै न्यूनतम तापक्रम मानिने व्यवस्था छ।
मौसम महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानमा दैनिक न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। दिनभरिमा सबैभन्दा बढी पुगेको तापक्रम अधिकतम र सबैभन्दा कम पुगेको तापक्रम न्यूनतम मानिन्छ।
मौसमविद्हरूका अनुसार राति आकाश सफा रहेमा बिहानको तापक्रम घट्ने र बादल लागेमा बढ्ने गर्छ। यसको विपरीत, दिउँसो आकाश खुला रहेमा घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्ने र बादल लागेमा घट्ने गर्दछ।

