काठमाडौँ । पश्चिमी वायु सक्रिय भएसँगै शुक्रबार अपराह्नदेखि देशका विभिन्न भागमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार विशेषगरी पश्चिम नेपालमा मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
मौसमविद् डेभिट ढकालका अनुसार माघ ९ गते शुक्रबार दिउँसोदेखि पश्चिमी क्षेत्रबाट बादल लाग्न सुरु भई सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा सुरु हुनेछ। शुक्रबार राति देशभरका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना रहेको छ।
पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने विभागले जनाएको छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिनासहितको वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।
शनिबारदेखि मौसममा केही सुधार देखिए पनि बदलीको प्रभाव देशभर रहने र चिसो बढ्ने विभागको भनाइ छ। मौसम परिवर्तनका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा, हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचना पछ्याउन अनुरोध गरेको छ।

