बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणको घटनामा एक जनाको मृत्यु भएको छ। अज्ञात व्यक्तिको आक्रमणमा परेका स्थानीय बासिन्दा खेम ढकालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नै निवासतर्फ फर्कने क्रममा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका थिए। आक्रमणपछि गम्भीर घाइते भएका उनलाई तत्काल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे हालसम्म यकिन भइसकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

