काठमाण्डौ । हिजाेअधिकांश युरोपेली सेयर बजारमा हरियाली छाएको थियाे। प्यान–युरोपियन स्टकएक्स६०० अधिकांश समूहमा वृद्धिका साथ ०.२७ प्रतिशतले बढेको थियाे।
लण्डनको एफटीएसई१०० भने ०.४८ प्रतिशतले घटेको थियाे । एफटीएसई१०० मा डियागो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको बिक्रीमा सन् २०२० पछिकै गिरावट आएपछि सेयरमूल्यमा गिरावट आएको हो ।
हिजाे स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य ५.५ प्रतिशतले बढेको थियाे । बैंकले अहिलेसम्मकै ठूलो अर्थात १.५ बिलियन डलर मूल्यबराबरको सेयर बाईब्याक गर्ने घोषणा गरेसँगै बैंकको सेयरमूल्य उकालो लागेको हो ।
यस्तै बैंकले १० मिलियन डलरबराबरको खर्च कटौतीको योजना समेत सार्वजनिक गरेको छ । यसका लागि बैंकले २०० भन्दा बढी प्रोजेक्ट पहिचान गरेको जनाएको छ । यो वर्षको दोस्रो त्रैमासमा बैंकको कर कटौती अघिको नाफा ५ प्रतिशतले बढेर ३.४९ बिलियन डलर पुगेको छ ।
अधिकांश कम्पनीहरुको बलियो वित्तीय विवरण सार्वजनिक भएसँगै युरोपेली बजारमा वृद्धि देखिएको छ । यस्तै बेलायतको केन्द्रीय बैंकले आगामी बिहिबार मौद्रिक नीतिको बैठक आयोजना गर्दैछ ।

