काठमाडौँ । १६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकलाई हत्या गरेर भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको भुगदेउ महांकाल गाउँपालिका–७ घर भएका बावु लामा पक्राउ परेका हुन् । लामो समयदेखि भारत बस्दै आएका लामालाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको स्रोतको दाबी छ । यता उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले भने-‘लामालाई झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको हो ।’
एसपी आचार्यले १०१ खबरसित भने– ‘हत्यामा संलग्न ३ जना अभियुक्त यसअघि नै पक्राउ परेका हुन्, अहिले पक्राउ परेका बावु लामा चौथो प्रतिवादी हुन् ।’ हत्यामा संलग्न अर्का प्रतिवादी काभ्रेको महाभारत गाउँपालिका–३ घट्टे घर भएका ३७ वर्षीय वीरमान सिंह भुलनलाई फागुन ८ मा नेपाल प्रहरीले पक्राउ परेका थियो । उनीहरु विरुद्ध भक्तपुर जिल्ला अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
२०६६ साल मङ्सिर २६ गते राती चार जना ठमेलबाट कोटेश्वर जाने भनेर बा.१ ज ९१४ नम्बरको ट्याक्सीमा चढे। कोटेश्वर हुँदै नरेफाँटमा पुगेपछि ट्याक्सी चालक रोशी गाउँपालिका–४ लेम्बाबेसी घर भएका मेघबहादुर तामाङलाई आफ्नै गलबन्दीले घाँटीमा कसेर हत्या गरेका थिए ।
हत्यापछि चालकको मोबाइल, पैसा लुटेर उनीहरू भागेका थिए । हत्यामा संलग्न दुई जना त्यतिबेला नै पक्राउ परेपनि बावु लामा र वीरमान सिंह भुलन फरार थिए ।
उनीहरू भारतमा काम गरेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।

