काठमाण्डौ । मुक्तककार उषा केसी आख्यानको दुनियाँमा प्रवेश गरेकी छन् । केसीद्वारा लिखित उपन्यास ‘हिउँफूल’ शनिबार डालो रेस्टुरेन्ट अनामनगरमा सार्वजनिक गरिएको छ ।
फागुन २४ गते, शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपन्यासकार उषा के सी को “हिउँफूल” उपन्यासको लोकार्पण सम्पन्न भएको हो । प्राडा दयाराम श्रेष्ठ ‘सम्भव’, कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ , उपन्यासकार शंकर भारती, शब्दपथका प्रधान सम्पादक एवम् कथाकार किशोर पहाडी, समालोचक प्रमोद प्रधान, प्राडा गोविन्दमानसिंह कार्की, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी लगायतले केसीको हिउँफूल लोकार्पण गरेका हुन् ।
संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालका साहित्यमा स्थापितदेखि नवोदित स्रष्टाको उपस्थिति थियो।

लेकालीले उपन्यासकार केसी र साहित्यिक पत्रकार संघको परिचय पस्किदै सहभागी सम्पूर्णलाई स्वागत गरेका थिए ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ सम्भव भएको कार्यक्रममा प्रमोद प्रधान एवम् डा गीता त्रिपाठीले कृतिमाथि समालोचनात्मक टिप्पणी राखेका थिए ।
प्रमुख अतिथि एवम् भूमिका लेखक प्रा डा दयाराम श्रेष्ठ ‘सम्भव’ले उपन्यास सामाजिक बिषयमा लेखिएको मौलिक उपन्यास भएको बताए । हामीमा आफ्नो बाबु र आमाको अनुहार मिल्छ त्यसैगरी हिउँफूल उपन्यास ‘रुपमतीको पुनर्जन्म’ भनेर सभामा प्रकाश पारेका थिए ।

उपन्यासकार उषा के. सी.लाई अध्यक्ष र प्रमुख अतिथिबाट बधाईपत्र, मायाको चिनो, दोसल्ला र माला लगाएर स्रष्टा सम्मान गरिएको थियो।
अर्का भूमिका लेखक समालोचक प्रमोद प्रधानले भूमिका लेख्नु अगाडि तीन पटक उपन्यास पढेको र तीन पटक नै रोएको दाबी गरे। प्रधानले भने- ‘उपन्यासको कथाले पाठकलाई यसरी तान्दछ कि कति बेला आँसु खस्यो पत्तो नै हुँदैन।’
उनले थपे- यो सामाजिक उपन्यासमा लैंगिक विभेदको बिषयलाई जस्ताको तस्तै उतारिएको कृति हो।
उपन्यासको आवरण चित्र कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठको रहेको छ । साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले उपन्यासकारलाई बधाई एवम् शुभकामना दिएका थिए ।
उपन्यास समाज नेपालका अध्यक्ष साहित्यकार शंकर भारतीले हिउँफूल पढेको छैन तर कार्यक्रममा यति राम्रो छ भन्ने सुनेपछि पढ्न र चर्चा-परिचर्चा गर्न आतुर रहेको कुरा बताएका थिए । यसैगरी कवि एवम् पत्रकार जितेन्द्र रसिकले पनि केसीलाई शुभकामना दिएका थिए ।
उपन्यासकार केसीले आफू एसएलसी दिएदेखि नै उपन्यास धेरै मनपर्ने र कथानक धेरै पहिलादेखि नै तयार गरेको, पारिवारिक घटना आफन्त गुमाउनुको पीडा र आफै बिरामी भई प्रकाशनमा ढिलो भएको बताउँदै उपन्यास पढेर सल्लाह सुझाव दिन आग्रह गरिन् ।
‘हिउँफूल’ भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो ।

