तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
चिन्तन एक वैज्ञानिक बाटो हो जसले जीवन र संसारका समस्याहरूको समाधान गर्दछ। व्यक्तिले संसारमा गरिएका क्रियाकलाप र ज्ञानको सदुपयोग चिन्तनमा आधारित हुन्छ। वेदान्त चिन्तन वेदका सिद्धान्तमा आधारित एक भाववादी दर्शन हो, जसमा उपनिषद्, ब्रह्मसूत्र र अन्य वैदिक ग्रन्थहरूका विचार समाहित छन्। यसका विभिन्न सम्प्रदायहरू छन्, जस्तै अद्वैत, द्वैत, र विशिष्टाद्वैत। वेदान्त दर्शन ब्रह्मवादको रूपमा परिचित छ, जसमा ब्रह्मको सत्तामा विश्वास गरिएको छ। यसलाई ज्ञानयोगको एक शाखा मानिन्छ र यसको मुख्य स्रोत उपनिषद हो।हिन्दू धर्म, जसलाई वैदिक सनातन धर्म पनि भनिन्छ, वेदमा आधारित छ र यसमा थुप्रै परम्परा, दर्शन र सम्प्रदायहरू समावेश छन्। यस धर्मले एकेश्वरवाद र बहुदेववादको सम्मिलन स्वीकार्छ र समयसँगै विविध नाम र दर्शनको विकास गरेको छ।
सनातन हिंदू पद्धतिले धर्म शास्त्रलाई कर्मपरक मानेको छ भने दर्शनशास्त्रलाई ज्ञानपरक ठानेको छ । यी दुईभित्र हाम्रो आध्यात्म विधालाई विचार्ने ‘मोक्षशास्त्र रहेको छ , यसका ज्ञानहरूलाई मीमांसा गर्ने प्रमाण शास्त्र हुनपुगेको छ । ती दुबैलाई गतिलोगरी विचार्ने दर्शनशास्त्र रहेको छ । त्यसैले हाम्रो परिप्रेक्ष्यमा हाम्रो जीवन र हामी हुर्किएको जगतको त्यो दर्शनसँग अटूट सम्बन्ध रहेको मानिएको हो । हाम्रो यो सम्बन्धलाई अन्वेषण गरेर चिरफार गर्नेकाम मानव जीवनले गर्दै आएको हो । हाम्रो जीवनको सैद्धान्तिक स्वरुप त्यही दर्शनले विश्लेषण गरेको हो । जीवन र जगतको मीमांसा गर्नु यी दर्शनहरूको उद्देश्य हो। हामी को हौँ ? ,कहाँबाट आयौ ? किन आयौं ? जस्ता सूक्ष्म जिज्ञासा र त्यसभित्र रहेको ज्ञानको खोजीगरी बुझ्ने प्रयाश गर्दा ती दर्शनहरूको उत्पत्ति हुन पुगेको हो ।
भगवत गीता, वेद, र शंकराचार्यका विचार अनुसार, शिक्षा जीवनको सुधार र आत्मविकासको मुख्य साधन हो। गीता अनुसार, पृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज केही छैन, र वेदले शिक्षा त्यस्तो कुरा मान्छ जसले व्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ। शंकराचार्यका अनुसार, आत्मानुभूति नै साँचो शिक्षा हो। उपनिषद् मा पनि शिक्षा स्वतन्त्रताको लागि हो भन्ने उल्लेख छ। गीता ले “निष्काम कर्म गर” भन्ने संदेश दिइरहेको छ, जसले शान्ति र प्रेमको मार्ग देखाउँछ र यो चिन्तन आज पनि सान्दर्भिक छ।
यदि यो चिन्तन पालना नगरिएमा विश्वभर अशान्ति र घृणा बढ्न सक्छ। यस चिन्तनले मानव जीवन, स्वतन्त्रता, र सम्मानको महत्त्व बुझाउँछ र सही र गलतको व्याख्या गर्न मद्दत पुर्याउँछ। यसमा आत्म-सहायता, सामाजिक कौशल, नैतिक सीप, र अन्य मूल्यहरू जस्तै शान्ति, समानता, नम्रता, आत्मविश्वास, इमान्दारीता, र न्याय समावेश छन्। यसले शान्तिपूर्ण सहअस्तित्व, परोपकार, करुणा, र सामाजिक व्यवहारको महत्त्व पनि बढाउँछ।
वैदिक चिन्तनले सहिष्णुता र सद्भाव ,अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने , भाईचारा ,अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरुमा जोढ दिने भएकाले मानिसको दिनचर्या, आश्रम प्रबन्ध र कानुनको पालनाजस्ता विषयमा जोड दिन्छ । व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन वैदिक चिन्तनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ । अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ ।
वेदको निष्कर्ष, गीताको मुल सन्देशबाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ । नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ । मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु समतामूलक समाजको निर्माण गर्न असल नागरिकको पहिचान दिलाउन समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न सामाजिक न्यायको प्रवर्द्धन गर्न नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न राष्ट्रिय एकता प्रवर्द्धन गर्न कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न सुशासन कायम गर्न मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न राज्यका शासकिय प्रशासकिय एवं व्यवस्थापकिय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गर्न मेलमिलाप कायम गर्न वैदिक चिन्तको अपरिहार्यता रहेको छ ।नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ ।
गुरुकुल र परिवारले बालबालिकालाई शिक्षा दिँदा र हुर्काउँदा नैतिक शिक्षा दिने चलन, नीति कथा आदिले मानिसलाई आफ्ना अधिकारका लागि लड्नभिड्न मात्र नभई उसले पूरा गर्नुपर्ने कर्तव्यसमेतको बोध गराएको छ । असल संस्कार, वातावरण र संगतमा हुर्किएको व्यक्तिमा गलत सोचको विकास हुने सम्भावना निकै कम रहन्छ । व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरूप समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्यता शास्त्रमा उल्लेख छ । साथै सबैले व्यक्तिगत रुपमा कर्तव्य निर्वाह गर्दा अरुको अधिकार पनि सुरक्षित हुनुपर्दछ भन्ने मान्यता लिएको सनातन चिन्तनले सदाचार नीतिलाई राज्य सञ्चालनको मुख्य आधार मानेको पाइन्छ । अधिकार, कर्तव्य, अनुशासन, विधिको पालना, असल कर्म, सामाजिक मर्यादा, सबैप्रतिको सम्मान भाव र राष्ट्रिय हितलाई सदाचारिताको पूर्वसर्तका रुपमा वेदान्त चिन्तनले व्याख्या गरेको छ । व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव प्रत्यक्ष वा परोक्ष रुपमा राज्य प्रणालीमा पर्दछ । त्यसैले व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न सकेमा मात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ । व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न वेदान्त चिन्तनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
मानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यही बिशेषता हासिल गर्न सक्दा त्यसले नै दृर्घकालिन, शान्ति, खुसी र आनन्द मिल्छ । असत्यबाट सत्यको नजिक लौजाऊ । अंधकारबाट प्रकाशको नजीक लैजाऊ ।। मृत्युबाट अमरताको नजीक लैजाऊ।“ यो नै जीवनको लागि उत्तम मार्गचिन्तन हो । बास्तवमा हामीसँग यस्ता चिन्तनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ । वेदान्त चिन्तनले व्यक्तिमा हुने अहंकार, काम, क्रोध, लोभ र मोहलाई त्याग गर्नका लागि स्वमूल्यांकनमा जोड दिएको छ । स्वमूल्यांकन र सदाचारिताबीच सकारात्मक सम्बन्ध रहेको हुन्छ । स्वमूल्यांकन गर्न सक्ने व्यक्ति अनुशासित त हुन्छ नै साथै अरुलाई सम्मान गर्ने, आफ्नो कर्तव्यमा नचुक्ने, सबैसँग मित्रवत् व्यवहार गर्न सक्ने हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
वेदान्त चिन्तनको मूल सार भनेकै उत्कृष्ट नागरिक बन्नु, समुन्नत राज्य निर्माण गर्नु हो । जसका लागि हरेक नागरिक आफ्नो जिम्मेवारीप्रति निष्ठावान् हुनुपर्दछ । सकारात्मक सोचको विकास गर्नुपर्दछ । सदाचारितामा सदा समर्पित हुनुपर्दछ । अरुलाई सम्मान गर्नुपर्दछ । असल कर्म नै समुन्नतिको आधार हो भन्ने सोचको विकास गर्न सक्नुपर्दछ । यसका साथै सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले अनावश्यक लोभ, लालच त्यागेर राज्यको नीति नै आफ्नो नीति मानेर कर्म गर्ने र सदाचारितालाई मूल मन्त्र बनाउन सकेमा वेदान्त चिन्तनको ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ । वेदान्त चिन्तनलाई सही रुपमा बुझेर रसपान गर्न सकेमा यसले हरेक नागरिकलाई व्यक्ति, परिवार, समाज र राष्ट्र सबैको हितमा कर्मशील बनाउनुको साथै हरेक तह र तप्कासँगको सम्बन्ध विकास, विस्तार र कर्तव्य पालना गर्न सक्ने समेत बनाउँछ ।
वेदान्त चिन्तनमा नश्वरतालाई दुःखको कारण मानिन्छ र संसारका दुःखमय स्वभावलाई स्वीकार गरिएको छ। संसारको जन्म–मरण र नश्वरताको चक्रबाट मुक्ति प्राप्त गर्न मोक्षको मार्गदर्शन गरिएको छ। मोक्षलाई जीवनको परम उद्देश्य मानिन्छ, र यो एक वैयक्तिक अनुभवको रूपमा सिद्ध हुन्छ।
वेदान्त चिन्तनले सकारात्मक र व्यवहारिक दृष्टिकोणको समन्वयलाई महत्त्व दिएको छ जसले मानव कल्याण, समाज विकास र विश्व शान्ति हासिल गर्न मद्दत पुर्याउँछ। यसमा धर्म, संस्कार, संस्कृति, कला, र साहित्यसँग सम्बन्धित मानवीय मूल्यहरू जस्तै सत्य, अहिंसा, नैतिकता, र सामूहिकता प्रमुख छन्।आजको समाजमा शान्ति र सद्भावको अवस्था कमजोर, अपराध र भ्रष्टाचार बढ्दै गएको, र राजनीतिकरणले हिंसा र सामाजिक विचलन बढाएको छ। यस्तो अवस्थामा वेदान्त चिन्तनबाट शिक्षा लिइ समाजमा नैतिकता, सदाचार, र एकता ल्याउन सकिन्छ। वेदान्त चिन्तनको पालनले राष्ट्रिय अखण्डता, भ्रातृत्व, र मानविय मूल्यहरूको सम्मान बढाउन सहयोग पुर्याउँछ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङमा कार्यरत छन्।)

