काठमाण्डौ । भारत र इंग्ल्याण्डबीचको पाँचौं टेस्ट क्रिकेट निकै रोचक अवस्थामा पुगेको छ। चौथो दिन वर्षाले खेल प्रभावित भएपछि खेलको निर्णय पाँचौ दिनमा हुने भएको छ। यो टेस्ट जित्नका लागि इंग्ल्याण्डलाई अब मात्र ३५ रन आवश्यक छ भने भारतलाई ४ विकेट चाहिएको छ।
इंग्ल्याण्डको जिततर्फ अग्रसरता
३७४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङमा ६ विकेट गुमाएर ३३९ रन बनाइसकेको छ। इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले १११ रन र जो रुटले १०५ रन बनाउँदै टिमलाई जितको नजिक पुर्याएका थिए। तर, भारतीय बलरहरूले पुनरागमन गर्दै दुवैलाई आउट गर्न सफल भएपछि खेल थप रोमाञ्चक बनेको हो।
भारतीय बलरको प्रदर्शन
भारतका लागि प्रसिद्ध कृष्णले ३ विकेट, मोहम्मद सिराजले २ विकेट र आकाश दीपले १ विकेट लिएका छन्। यसअघि, पहिलो इनिङमा भारतले २२४ रन बनाएको थियो भने इंग्ल्याण्डले २४७ रन जोडेको थियो। दोस्रो इनिङमा भारतले ३९६ रन बनाएपछि इंग्ल्याण्डले ३७४ रनको लक्ष्य पाएको थियो।
हालसम्मको सिरिजमा इंग्ल्याण्ड २-१ ले अगाडि रहेको छ। अब यो पाँचौ टेस्टले सिरिजको नतिजामा थप प्रभाव पार्नेछ।

