काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध सांस्कृतिक कार्यक्रमसहित उत्साहपूर्वक मनाइँदैछ। नेवार समुदायले यो दिनलाई नयाँ वर्षका रूपमा विशेष सम्मानका साथ मनाउने परम्परा रहेको छ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ. सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुआत गरेका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत् लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि पृथ्वीनारायण शाहसम्म मौलिक राष्ट्रिय सम्वतका रूपमा चल्दै आएको थियो।
उनका शब्दमा, “लिच्छविकालअघि शक सम्वत् प्रचलनमा थियो, तर नेपाल नामबाट सुरु भएकाले यो हाम्रो मौलिक राष्ट्रिय सम्वत् हो।”
विसं २००७ मा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि निरन्तर अभियान चलाइएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायतका क्षेत्रमा आज नेवार समुदायले परम्परागत वेशभूषा, नाचगान र शोभायात्रासहित नयाँ वर्ष मनाउँदै छन्।
गरिब जनताको ऋणमोचन गरेर सामाजिक न्यायको उदाहरण प्रस्तुत गरेका शंखधर साख्वालाई २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यस्तै, २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई औपचारिक रूपमा राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।
काठमाडौँ उपत्यकामा आज पनि कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द र कार्तिक शुक्ल प्रतिपदादेखि नयाँ खाताको सुरुआत गर्ने परम्परा जीवित छ, जसले नेपाल सम्वतलाई सांस्कृतिक निरन्तरताको प्रतीक दर्शाउँछ।

