टपटेनखबर | काठमाडौं, ५ कार्तिक, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरू र जेन–जी आन्दोलनका प्रतिनिधिहरूलाई संयुक्त बैठकमा सहभागी हुन प्रस्ताव गरेकी छिन्।
मंगलबार बालुवाटारमा भएको दलहरूसँगको बैठकमा उनले संवाद र समन्वयका लागि नयाँ पहल अघि सारेकी हुन्।
दलहरूले आगामी चुनावबारे चासो राख्दा प्रधानमन्त्री कार्कीले भनिन्- “राष्ट्रपतिबाट संवादको ढोका खोलिएको छ, अब जेन–जी र दलहरू सँगै बसौँ।”
चुनावका तयारीबारे सरकारको प्रतिबद्धता
प्रधानमन्त्री कार्कीले सरकार निर्धारित मितिमा भयरहित वातावरणमा चुनाव गराउन पूर्ण रूपमा तयार रहेको बताइन्।
उनका शब्दमा —“चुनाव गराउन सरकार कटिबद्ध छ। यसैका लागि मन्त्रीहरू, सुरक्षानिकायलगायत सबै संयन्त्र सक्रिय छन्।”
ढिलाइको कारण : उपचार, राहत र सुनुवाइ
बैठकमा दलहरूले संवादमा ढिलाइ किन भयो ? भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्रीले घाइतेको उपचार, शहीदको शव व्यवस्थापन र परिवारका लागि राहत जुटाउने कार्यले समय लिएको बताइन्।
उनले थपिन् —“सुरुवाती अवस्थामा जेन–जी युवाहरूले दलहरूसँग संवाद गर्न चाहेका थिएनन्। अहिले अवस्था सहज बन्दै गएको छ।”
प्रधानमन्त्री कार्कीले सबै दलहरूलाई आग्रह गर्दै भनिन् —“जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ। सरकार तपाईंहरूका चासो सम्बोधन गर्न तयार छ।”

