टपटेनखबर | काठमाडौं, ५ कार्तिक २०८२
‘जेन–जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घरमा आगजनी नेकपा एमालेकै भातृ संगठन युवा संघका एक नेताको अगुवाइमा भएको रहस्य खुलेको छ । आगजनी गरेको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका नेता सोनम थेवे पक्राउ परेका छन्।
ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बराहीमा बस्दै आएका थेवेलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार थेवेले गत भदौ २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घरमा तोडफोड र आगजनीमा संलग्न भएको प्रमाण भेटिएको छ। उनी चक्रपथ–महाराजगन्ज क्षेत्रमा हुलहुज्जतपूर्ण गतिविधि र गुण्डागर्दीमा सक्रिय रहेको दाबी प्रहरीले गरेको छ।
मिटरब्याज र हप्ता असुल्ने गिरोहमा संलग्नता
प्रहरी अनुसन्धानअनुसार सोनम थेवे गुण्डा नाइके ‘चक्रे मिलन समूह’सँग आबद्ध थिए। उनले व्यवसायी, होटल संचालक र रात्री क्लब सञ्चालकसँग हप्ता असुल्ने गरेका थिए। साथै, मिटरब्याजमा लगानी र दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोप पनि लागेको छ।
यसअघि पनि उनलाई पक्राउ गर्न खोज्दा नेकपा (एमाले)का केही नेताहरूको दबाबमा कारबाही रोकिएको स्रोतले जनाएको छ।
ठगी मुद्दामा पहिले नै संलग्नता
प्रहरीका अनुसार यसअघि ताप्लेजुङकै साहारा सुब्बासँग मिलेर उनले दक्षिण कोरिया पठाइदिने भन्दै १ करोड ८ लाख ३० हजार रुपैयाँ ठगेको अभियोग लागेको थियो। सो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा सुब्बालाई पक्राउ गरेको थियो। त्यस घटनामा पनि सोनम थेवेको संलग्नता देखिए पनि अनुसन्धान रोकिएको थियो।
गुण्डा सूचीमा पनि सोनम थेवेको नाम
सोनम थेवे प्रहरीद्वारा तयार गरिएको ‘सुरक्षा चुनौती दिन सक्ने’ १३१ गुण्डाको सूचीमा पनि परेका थिए।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उक्त सूची महानगरीय अपराध महाशाखा र काठमाडौं, ललितपुर, भक्तपुर प्रहरी परिसरहरूलाई परिपत्र गर्दा थेवे पनि सो सूचीमा सूचीकृत थिए।

