काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको बताएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको बैठकमा उनले भनिन्, “हामी सबै मिलेर देश बनाउनुपर्छ । हामीले सुधार नगरे कसैले सुधारीदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ ।”
राजनीतिक नेतृ नभई परिस्थितिले प्रधानमन्त्री बन्नुपरेको बताउँदै कार्कीले भनिन्, “गत भदौ २३ गतेअघि यो स्थिति आउला भन्ने कल्पना पनि गरेकी थिइनँ ।”
प्रधानमन्त्रीका अनुसार, जेनजी आन्दोलनको सुरुको माग भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने थियो । तर अहिले आन्दोलनभित्र विभिन्न धार र माग बढ्दै गएको उल्लेख गर्दै उनले भनिन्, “कतिपय जेनजीहरू यहाँ आएर चर्का कुरा गर्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रै छोराछोरी हुन् । सिक्दै छन्, कतिपय त निकै परिपक्व कुरा गर्छन् ।”
प्रधानमन्त्री कार्कीले संघीयताको कार्यान्वयनमा प्रदेश सरकारसँग सहकार्य गर्दै संविधानले तोकेको सीमाभित्र काम गर्ने बताइन् । उनले भनिन्, “संविधानले बनाएका संरचनाको सम्मान गर्नैपर्छ । स्थायित्वका लागि निर्वाचित सरकार आवश्यक छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् ।”
उनका अनुसार, स्वतन्त्र व्यक्तिहरू समेत अहिले दल खोलेर चुनावमा जाने तयारीमा छन् । “जेनजीहरूलाई पनि हामीले भनेका छौँ — पार्टी खोल, चुनाव लड, आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ । बरालिएका छन्, उग्र छन्, तर यो समयको संवेदनशीलता बुझ्नुपर्छ ,” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई सरकारको मुख्य प्राथमिकता रहेको बताइन् । उनले सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद सुरु भएको र छिमेकी मुलुक तथा मित्रराष्ट्रहरूले सहयोगका वाचा गरेको जानकारी दिइन् ।
“आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरीका ९० प्रतिशत संरचना स्थानीय जनताले नै पुनर्निर्माण गरेका छन्, जसले प्रहरीको मनोबल बढाएको छ,” उनले भनिन् ।
उनका अनुसार, निर्वाचन आयोगलाई आवश्यक १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध भइसकेका छन् । “बाँकी तयारी अन्तिम चरणमा छ । आयोगले पनि तोकिएकै समयमा चुनाव गर्न सकिने विश्वास दिलाएको छ ,” उनले भनिन् ।
प्रधानमन्त्रीले लुटिएका र हराएका हतियार फेला पर्दै गएको, भागेका कैदीहरू फर्किँदै गरेको र सुरक्षा अवस्था सुधारतर्फ उन्मुख रहेको बताइन् । “अब स्थानीय सरकारका प्रतिनिधिसँग पनि छलफल गरेर समन्वयात्मक रूपमा अघि बढ्छौँ ,” उनले निष्कर्षमा भनिन् ।

