काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच निर्णायक खेल हुँदैछ। यसैगरी, दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११ः४५ बजे र दोस्रो खेल अपराह्न ४ बजे सुरू हुने आयोजकले जनाएको छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स प्रतियोगितामा लगातार तीन जित निकाल्दै अङ्क तालिकामा शीर्ष स्थानमा उभिएको छ। “तीन जित तीन कथा” बनाउँदै आएको टोली आज लुम्बिनी लायन्ससँगको भिडन्तमा आफ्नो दबदबा कायम राख्ने लक्ष्यमा छ।
उता, रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले तीन खेलमा एक मात्र जित हात पारेको छ र अङ्क तालिकामा छैटौँ स्थानमा छ। लुम्बिनीले आजको खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै तालिकामा सुधार गर्ने दाउमा छ।
दोस्रो खेलमा साविक विजेता अनिल शाह नेतृत्वको जनकपुर बोल्ट्स र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स पहिलो जितका खोजीमा छन्। दुवै टोलीले यसअघि दुई खेलमा पराजय भोगेका थिए, जसका कारण आजको भिडन्त उनीहरूका लागि महत्त्वपूर्ण रहनेछ।
प्रतियोगितामा उत्साहजनक प्रदर्शन, रणनीति र प्राविधिक कौशलले निर्णायक भूमिका खेल्ने अनुमान खेलप्रेमीले गरेका छन्।

