काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)को राजेन्द्र श्रेष्ठ नेतृत्वको समूहबीच आज औपचारिक पार्टी एकता हुने भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार दिउँसो १ बजे एकता घोषणा कार्यक्रम गर्ने तयारी नेकपाले गरेको छ।
कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेताहरूको सम्बोधन रहनेछ। एकता घोषणालाई व्यापक र ऐतिहासिक बनाउने उद्देश्यसहित दुवै पार्टीका कार्यकर्ताहरूको समेत उपस्थिति रहने बताइएको छ।
यसअघि नेकपाले अशोक राई नेतृत्वको जसपाको मूल पक्षसँग समेत एकताको लागि पहल गरेको थियो। तर, अन्तिम समयमा राई पक्ष एकताबाट पछि हटेको नेकपा स्रोतले जनाएको छ। राई पक्ष पछि हटे पनि जसपाबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेताहरू नेकपामा औपचारिक रूपमा समाहित हुन लागेका हुन्।
दुवै पक्षका नेताहरूले यो एकतालाई वैकल्पिक वाम राजनीति सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। आजको घोषणासँगै नेपालको वाम राजनीतिमा नयाँ शक्ति सन्तुलन र नयाँ सहकार्यको मार्ग खुल्ने अपेक्षा गरिएको छ।

