काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आज) पनि दुई खेल हुने भएका छन्।
सवा ११ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। ‘प्लेअफ’ सम्भावना जिवन्त राख्न दुवै टिमलाई जित आवश्यक छ। तीन खेलबाट दुई अंक बटुलेको पोखरा तालिकाको छैटौँ स्थानमा छ भने चार खेलबाट दुई अंकसहित लुम्बिनी सातौँ स्थानमा रहेको छ।
अपराह्न साढे ३ बजे सुरु हुने दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। प्रतियोगिताको दोस्रो संस्करणमा सुदूरपश्चिम लगातार चार खेलमा जित निकाल्दै आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
उता, तीनै खेलमा पराजित जनकपुर तालिकाको पुछारमा छ र आजको खेलले उसको बिदाइ औपचारिक बनाउने कि पुनरागमनको आशा जोगाउने भन्ने छ।

