काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै रोमाञ्चक जीत दर्ता गरेको छ। बसिर अहमदको दमदार इनिङ्सले एक समय कठिन देखिएको लक्ष्य विराटनगरले १९.५ ओभरमै पूरा गर्यो।
कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगरको सुरुआत कमजोर थियो। ओपनर लोकेस बम ६ रनमा आउट भए भने जर्ज मुन्से शून्यमै पेभिलियन फर्किए। साम हेजलेटले १६ र साहिल पटेलले १९ रन जोडे पनि टोली दबाबमै थियो।
यही अवस्थामा क्रिजमा आएका बसिर अहमदले ४३ बलमा तीन छक्का र तीन चौकासहित ६२ रनको उत्कृष्ट इनिङ्स खेले। उनीसँगै नारायण जोशीले पनि २५ रन जोड्दै महत्वपूर्ण भूमिका खेले।
अन्तिम ओभरमा १० रन आवश्यक परेको अवस्थामा अहमदले पाँचौ बलमा छक्का प्रहार गर्दै विराटनगरको जीत सुनिश्चित गरे। १४औँ ओभरसम्म सुस्त रहेका विराटनगरका ब्याटरहरूले अन्तिम पाँच ओभरमा दुई विकेट मात्र गुमाउँदै ७१ रन बटुलेका थिए।
कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई–दुई विकेट लिए भने पवन सरार्फ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा तीन विकेटको क्षतिमा १६० रन बनाएको थियो। प्रियान्क पञ्चालले ६३ रन र विलियम बोसिस्टोले अविजित ४८ रन जोडे। यी दुवैले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए। विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले एक–एक विकेट लिए।

