काठमाडौँ — सन् २०२५ को नोभेम्बर महिनामा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकले पछिल्लो महिनामा पर्यटक आगमन दर वृद्धि भएको देखाएको छ।
नोभेम्बरमा मात्रै सबैभन्दा धेरै भारतबाट १८ हजार ९९५ पर्यटक आएका छन्। त्यसपछि क्रमशः अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बङ्गलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलङ्काबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४ जना आएका छन्।
क्षेत्रगत हिसाबले दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाका अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्यपूर्वबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य क्षेत्रबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ।
सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक नेपाल आएका छन्। यीमध्ये अक्टोबर एक्लै १ लाख २८ हजार ४४३ पर्यटकले भ्रमण गरेको महिनाका रूपमा उभिएको छ, जसलाई मुख्य पर्यटकीय सिजन मानिन्छ।
यसअघि सेप्टेम्बरमा ७८ हजार र अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए।

