काठमाडौँ — विश्वका विभिन्न देशमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेजस्ता दासत्वका आधुनिक रूपविरुद्ध विश्वव्यापी चेतना फैलाउने उद्देश्य यो दिवससँग जोडिएको छ।
संयुक्त राष्ट्रसंघले १९४९ डिसेम्बर २ मा मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी महासभा संकल्प पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर २ मा दासता उन्मूलन दिवस मनाइन्छ।
राष्ट्रसंघका अनुसार आज पनि विश्वभर करिब पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन्। तीमध्ये धेरैजसो महिला र बालबालिकाले बलपूर्वक श्रम गर्नुपरेको तथ्याङ्कले देखाउँछ। जातीय विभेद, गरिबी, सामाजिक बहिष्कार र संरचनागत असमानताका कारण केही समुदाय अझै पनि शोषणको उच्च जोखिममा रहेको जनाइएको छ।
प्रवासी तथा असुरक्षित श्रमिकहरू घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौनसम्बन्धी क्षेत्रमा समेत विभिन्न प्रकारको आर्थिक तथा शारीरिक शोषणमा पर्ने गरेका छन्। अन्तरराष्ट्रिय श्रम सङ्गठन (ILO) ले दासत्व तथा आधुनिक शोषण अन्त्यका लागि सरकार, नागरिक समाज र समुदायबीच सहकार्य अनिवार्य रहेको बताउँदै पीडितको उद्धार, पुनःस्थापना, न्याय उपलब्धता र दीर्घकालीन सुरक्षामा ध्यान दिनुपर्ने उल्लेख गरेको छ।

