काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे सुरु हुँदैछ, जहाँ साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछन्।
लगातार चार खेल हारेर तालिकाको पुछारमा पुगेको जनकपुर बोल्ट्सका लागि आजको खेल ‘कर या मर’ समान छ। जित निकाल्न सके गणितीय रूपमा प्लेअफ आशा जोगिनेछ। यता चार मध्ये दुई खेल जितिसकेको चितवन राइनोजले यसपटक जित हात पारेर प्लेअफ यात्रालाई थप मजबुत बनाउन खोज्नेछ।
अपराह्नको दोस्रो खेल पनि समान रूपमा निर्णायक छ। चार खेलमध्ये एकमात्र जितेको पोखराका लागि प्लेअफ यात्रा सहज बनाउने अवसर यही खेलमा छ। कर्णाली याक्सका लागि पनि जित अत्यन्तै आवश्यक छ, किनकि पराजयले प्लेअफको ढोका झन् साँघुरो बनाउन सक्छ।

