काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आइतबार चालिसेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। चालिसे विघटित प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सभापतिसमेत थिए।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो कायम गरिएको छ।
अख्तियारका अनुसार चालिसे २०७४ देखि २०७९ सालसम्म पाँच वर्ष मेयर पदमा रहँदा उनी र उनका सगोलका परिवार सदस्यहरूको वैधानिक आय ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँ मात्र देखिएको छ। तर सोही अवधिमा ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी भएको पाइएको छ।
स्रोत नखुलेको उक्त रकम जफत गर्नुपर्ने मागसहित अख्तियारले आरोपपत्र दायर गरेको जनाएको छ।
आरोपपत्रमा चालिसेकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर चालिसे र सञ्जीव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई पनि स्रोत नखुल्ने सम्पत्ति जफतका निम्ति प्रतिवादी बनाइएको छ।




