काठमाडौँ। पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको जेल सजाय सुनाएको छ।
अदालतको आदेशको प्रतिलिपि उद्धृत गर्दै पाकिस्तानी दैनिक डनले जनाएअनुसार दुवै जनालाई एक करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ। कानुनअनुसार जरिवाना तिर्न असफल भएमा थप जेल सजाय भोग्नुपर्नेछ।
रावलपिन्डीस्थित अडियाला जेलमा भएको सुनुवाइका क्रममा विशेष न्यायाधीश (केन्द्रीय) शाहरुख अर्जुमन्दले फैसला सुनाएका हुन्।
अदालतले इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास तथा भ्रष्टाचार रोकथाम ऐनको धारा ५(२) अन्तर्गत थप सात वर्षको सश्रम कारावासको सजाय सुनाएको हो। बुशरा बीबीलाई पनि सोही प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय तोकिएको हो।
यसअघि, गत अक्टोबरमा इमरान खान र बुशरा बीबीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै यी मुद्दाहरू राजनीतिक प्रतिशोधका रूपमा आफूलाई राजनीतिबाट अयोग्य ठहर गर्न रचिएको षड्यन्त्र भएको दाबी गरेका थिए।
डन का अनुसार पिटिआई संस्थापक इमरान खानले प्रधानमन्त्रीको हैसियतमा सबै प्रक्रिया नीतिअनुसार पालना गरिएको, प्रधानमन्त्री कार्यालयको प्रोटोकल शाखाबाट प्रतिवेदन, मूल्याङ्कन तथा भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि मात्रै सम्पत्ति कानुनी रूपमा राखिएको जिकिर गरेका छन्।

