काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यले बिर्तामोडस्थित होटल द किंग्सबरीमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो।
आर्थिक वर्ष २०८१/८२ का लागि तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी कोशी प्रदेशबाट उत्कृष्ट ठहरिएका ३०० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा प्रदेश अन्तर्गतका शाखा कार्यालयका शाखा प्रमुखहरुको उपस्थितिमा सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको हो।
पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सहभागी अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता प्रदान गर्दै सम्मान गरेका थिए। साथै, सो प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी, कम्पनीको वार्षिक योजना अन्तर्गत सञ्चालन गरिएको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादासहित सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब तथा नेशनल अवार्ड अन्तर्गत योग्य अभिकर्ताहरुलाई प्रदेशस्तरमै सम्मान गर्ने नीति अनुसार कोशी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए। उनले सीईओ क्लब कार्यक्रममा नेपालभरबाट १ हजार ६ सयभन्दा बढी अभिकर्ता छनोट हुनु योजनाको सफलताको प्रमाण भएको उल्लेख गर्दै आगामी दिनमा पनि अभिकर्ताहरु माझ लोकप्रिय र प्रेरणादायी योजनाहरु ल्याउन कम्पनी प्रतिबद्ध रहेको बताए।
समारोहमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेका थिए। तालिमपछि सहभागी अभिकर्ताहरुले थप ऊर्जा प्राप्त भएको र आफ्नै प्रदेशमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिए ।

