काठमाडौँ । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७३ रनले पराजित भएको छ। यस हारसँगै नेपालको महिला टी–२० विश्वकप खेल्ने यात्रा समाप्त भएको छ।
सोमबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै अलआउट हुँदै ६८ रनमै सीमित भयो।
नेपालका लागि विन्दू रावलले १४ रन जोडिन् भने रोमा थापा १४ रनमा नटआउट रहिन्। अन्य नेपाली ब्याटरहरूले उल्लेख्य योगदान दिन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनाउन सफल भएको थियो।
निर्णायक खेलमा आएको यस हारले नेपाललाई महिला टी–२० विश्वकपको दौडबाट बाहिर्याएको हो।

