काठमाण्डौ । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-योललाई देशद्रोहको षड्यन्त्रसम्बन्धी मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ।
६५ वर्षीय उनले सन् २०२४ डिसेम्बरमा देशमा सैन्य शासन (मार्सल ल) लागू गर्ने असफल प्रयास गरेका थिए। राष्ट्रपतिका रूपमा घोषणा गरिएको मार्सल ल केवल करिब ६ घण्टा मात्र कायम रह्यो। संसद्बाट व्यापक विरोध भएपछि उनले निर्णय फिर्ता लिन बाध्य भएका थिए।
त्यस घटनापछि संसद्ले महाभियोग प्रस्ताव पारित गर्दै उनलाई २०२४ डिसेम्बर १४ मा पदबाट निलम्बन गरेको थियो। पछि संवैधानिक अदालतले अप्रिल २०२५ मा औपचारिक रूपमा पदबाट बर्खास्त गरेको थियो।
बिहीबार सियोलस्थित अदालतले सो प्रकरणमा उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो। फैसलापछि उनका समर्थकले अदालतबाहिर विरोध प्रदर्शन गरेका छन्।
युल यसअघि नै अन्य मुद्दामा जेलमा रहेका छन्। विशेष सरकारी वकिलले उनको कदमले लोकतन्त्रलाई प्रत्यक्ष खतरा पुर्याएको भन्दै मृत्युदण्डसम्मको माग गरेका थिए।
मार्सल ल घोषणा गर्दा कानुनी रूपमा आवश्यक पूर्ण मन्त्रिपरिषद् बैठक नगरेको तथा गिरफ्तारीको प्रतिरोध गरेको कसुरमा अदालतले गत महिना उनलाई थप ५ वर्षको कारावास सजाय सुनाइसकेको थियो।
यसैबीच, सोही प्रकरणमा प्रधानमन्त्री हान डक सुसहित मन्त्रिपरिषद्का दुई सदस्यलाई पनि दोषी ठहर गरिएको छ। जबरजस्ती आदेशलाई वैधानिक देखाउन प्रयास गरेको, अभिलेखमा हेरफेर गरेको तथा शपथ लिएर असत्य बयान दिएको अभियोगमा उनीहरूलाई २३ वर्षको कारावास सजाय सुनाइएको छ। हानले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका छन्।

