शुक्रबार काठमाडौँको प्रदर्शनीमार्ग र तीनकुने क्षेत्रमा दुई फरक समूहले प्रदर्शन गर्ने भएका छन्। गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थकहरूले एकैदिन प्रदर्शनको घोषणा गरेपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।
समाजवादी मोर्चामा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शनीमार्गको भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन्। मोर्चाले बबरमहलबाट माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने योजना बनाएको छ। कुपण्डोलमा भेला भएर त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्ग पुग्ने रुट तय गरिएको छ। सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रसम्म जुलुस निकाल्न जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ। मोर्चाले प्रदर्शनमा १ हजार स्वयंसेवक परिचालन गर्ने जानकारी दिएको छ।
अर्कोतर्फ, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तीनकुनेमा प्रदर्शन गर्दै छन्। सुवेदी समूहले प्रदर्शन स्थल सार्वजनिक नगरे पनि प्रसाईंसँग मिलेर शक्ति प्रदर्शन गर्ने अनुमान गरिएको छ। प्रहरीले पूर्वराजा समर्थकलाई चक्रपथ बाहिर मात्र जुलुस निकाल्न दिने रणनीति बनाएको छ। चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म जुलुस निकाल्न अनुमति दिइएको छ। भक्तपुरबाट आउने समर्थकलाई तीनकुनेमा रोकिने व्यवस्था गरिएको छ।
सुरक्षा व्यवस्था
सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले ठूलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको कमाण्डमा ३५ सय प्रहरी खटाइनेछन्। प्रदर्शन स्थलमा एसपी अपिल बोहरा नेतृत्वको टोलीले सुरक्षा व्यवस्थापन गर्नेछ। भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा ‘कमाण्ड सेन्टर’ स्थापना गरिएको छ, जहाँ प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले निगरानी गर्नेछन्।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले भने, “मुठभेड रोक्न समाजवादी मोर्चाका समर्थकलाई कोटेश्वरबाट बालकुमारी पुल हुँदै भित्री बाटोबाट प्रदर्शनीमार्ग पठाउँछौँ। आवश्यकता अनुसार एसएसपी अधिकारी फिल्डमा गएर सुरक्षा व्यवस्थापन गर्नेछन्।” अवैध गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरी पनि परिचालन गरिने उनले बताए।
प्रहरीले समाजवादी मोर्चा र पूर्वराजा समर्थकको जुलुसलाई छुट्टाछुट्टै राख्न रुट डाइभर्सनको योजना बनाएको छ। भक्तपुरबाट आउने समाजवादी मोर्चाका समर्थकलाई कोटेश्वरबाट बालकुमारीतर्फ डाइभर्ट गरिनेछ। पूर्वराजा समर्थकलाई चक्रपथ बाहिर सीमित गरिनेछ। सुरक्षा निकायले सूचना संकलनका लागि सादा पोसाकमा प्रहरी खटाउने रणनीति बनाएको छ।

