काठमाण्डौ। भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढीपहिरोमा परी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ भन्दा बढी नागरिक बेपत्ता भएको सार्वजनिक भएको छ ।
कुशे गाउँपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’पछिको बाढीपहिरोमा परी गाउँपालिकावासी बेपत्ता भएको सार्वजनिक गरेको हो ।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का १३ जना र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशङ्का सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएको छ।’
बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत गतिमा अघि बढाउन र प्रभावकारी बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत तत्काल कूटनीतिक पहल गर्न गाउँपालिकाले आग्रह गरेको छ। विज्ञप्तिमार्फत प्रदेश तथा सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराएको छ।
उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्पिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ भई आएको भीषण बाढी तथा पहिरोमा परी ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा आएको बाढीमा परी बेपत्ता नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् । तुर्केमिस्तान भ्रमणमा रहेका ओलीले हराएका नेपालीको खोजीका लागि भारतस्थित नेपाली दुतावासवाट पहल भईरहेको बताएका छन् ।
‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आएको छ, उनीहरूको उद्दारको लागि दूतावास मार्फत कूटनीतिक छलफल भएको छ।’
प्रधानमन्त्री ओलीले अगाडी लेखेका छन्, ‘बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्न शक्ति मिलोस भन्ने कामना गर्दछु।’

