काठमाडौँ, साउन २३ गते ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, नेपाल विद्युत् प्राधिकरणले भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बङ्गलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो।
उक्त अवधिमा भारतबाट १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात भएको छ। यस आधारमा नेपाल विद्युत् व्यापारमा खुद निर्यातक मुलुकको रूपमा स्थापित भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले यो उपलब्धिलाई ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए।
बङ्गलादेशसँगको त्रिपक्षीय सम्झौता अन्तर्गत नेपालले हाल ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। वर्षायाममा पानीको बहाव बढ्दा उत्पादन हुने अतिरिक्त विद्युत् भारतको ‘डे अहेड’ र ‘रियल टाइम’ बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री गरिँदै आएको छ। साथै, भारतमा एनभिभिएनमार्फत मध्यकालीन सम्झौताका आधारमा पनि व्यापार भइरहेको मन्त्रालयले जनाएको छ।
हाल नेपालले भारतका विभिन्न राज्यमा दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ।

