काठमाण्डौ । भारतको राजधानी दिल्लीबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लागेका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान, र दुबई लगायतका देशमा पठाउने तयारी भइरहेको थियो।
दिल्लीस्थित नेपाली दूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ नामक संस्थाले बुधबार राति उनीहरूलाई उद्धार गरेको हो। उनीहरूलाई गैरकानुनी रूपमा विदेश पठाउने प्रयास गरिएको खुलासा भएको छ।

उद्धार गरिएका महिलाहरूमध्ये ३१ जना कुवेत, ४ जना ओमान, ४ जना दुबई र १ जनालाई साउदी अरब पठाउने योजना थियो। राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले दिएको जानकारीअनुसार उनीहरूलाई आज (शुक्रबार) रूपन्देहीको सुनौली नाका हुँदै काठमाडौँ ल्याइनेछ।
यी महिलाहरूलाई नेपालका २४ वटा जिल्लाबाट दिल्ली पुर्याइएको र उनीहरू भिजिट भिसा तथा भारतको बाटो प्रयोग गरेर विदेश जाने तयारीमा रहेको पाइएको छ।
यस घटनाले नेपाली महिलाहरूलाई अवैध रूपमा विदेश पठाउने गिरोह अझै सक्रिय रहेको देखाएको छ।

