काठमाण्डौ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को पछिल्लो भेलालाई अवैधानिक ठहर गरेको छ । यससँगै, लालवीर चौधरीको नेतृत्व अवैध भएको छ । रञ्जिता श्रेष्ठ नै पार्टीको आधिकारिक अध्यक्षको रूपमा कायम रहेको आयोगले निष्कर्ष दिएको छ।
आयोगकी प्रवक्ता निता पोखरेल आचार्यले मंगलबारको आयोगको बैठकले रञ्जिता श्रेष्ठको नेतृत्वलाई नै वैधानिकता दिने निर्णय गरेको जानकारी दिइन् ।
भर्खरै सम्पन्न नाउपाको एक राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउँदै लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । चौधरीले साउन १५ गते त्यसको जानकारी र विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आयोगका अनुसार, नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम समावेश थिएन । राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानअनुसार उनको नेतृत्व अवैध मानिएको हो । यसअघि २०८० सालमा पनि पार्टीको पहिलो महाधिवेशनले रेशम चौधरीलाई अध्यक्ष बनाएको भए पनि आयोगले त्यसलाई मान्यता नदिई रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएको थियो ।

