वीरगञ्ज । नेपालमा उपलब्ध मलको अभावमा किसानहरूले दुःख पाइरहेका बेला पर्सामा भने सरकारी अनुदानको मल लुकाएर राखेको पाइएको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका-३ कटैयामा गोप्य रूपमा भण्डारण गरिएको १९१ बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार राति अनुगमन गरेको थियो । सरकारी अनुदानको मल जम्माखोरी गरी बजार मूल्यभन्दा धेरैमा बिक्री गरिरहेको गुनासोपछि यो कारबाही गरिएको हो ।
अनुगमनको क्रममा कटैयाका युनिस अन्सारीको घरबाट २७ बोरा डीएपी र २३ बोरा पोटास मल बरामद भएको छ । त्यसैगरी, सोही ठाउँका शाह महमद अन्सारीको घरमा लुकाइएको १४१ बोरा मल पनि बरामद भएको छ । यसमा ९ बोरा डीएपी, १८ बोरा पोटास र ११४ बोरा सिंगल सुपर फस्फेट मल रहेको जनाइएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले मल बेच्ने अनुमति नभएका व्यक्तिहरूले चर्को मूल्यमा मल बेचिरहेको पाइएको बताए । यद्यपि, प्रहरी पुग्दा मल कारोबारमा संलग्न व्यक्तिहरू भने फरार भएका छन् ।
मल जफत गरी थप अनुसन्धान भइरहेको छ । यस घटनाले सरकारी अनुदानको मल वितरण प्रणालीमाथि प्रश्न खडा गरेको छ ।

