काठमाण्डौ । सिरहाको गोल बजारमा एक युवाको अपहरणपछि हत्या भएको नेपाल प्रहरीले बताएको छ।
गोल बजार नगरपालिका– १३ का युवक अभिषेक सिंहको अपहरण गरी हत्या गरेर फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माले बताए। अपहरणमा परी हत्या भएका अभिषेक १५ वर्षीय युवक रहेको एसपी शर्माले जानकारी दिए ।
गत असोज ५ गते रातिदेखि हराएका अभिषेक्लाई परिवारले रातभरि खोजतलास गर्दा पनि कुनै खबर पाउन सकेको थिएन । प्रहरीले दिएको जानकारी अनुसार अभिषेकको परिवारका अनुसार असोज ६ गते बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट उनकी आमाको मोबाइलमा युवक अभिषेक अपहरणमा परेको र पैसा मागिएको म्यासेज आएको थियो।
उक्त म्यासेज सहित परिवारले प्रहरीलाई जानकारी गराएका थिए।
अपहरित युवक अभिषेक आफ्नै आफन्तको आँप गाछिमा मृत अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्न्तराम शर्माका अनुसार अपहरण एवम् हत्यामा संलग्न व्यक्ति एवम् घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
एसपी शर्माले भने- ‘नेपाल प्रहरी छिट्टै सत्यतथ्य पत्ता लगाउन सफल हुन्छ।’