काठमाडौँ — कार्तिक शुक्ल षष्ठीका दिन मनाइने सूर्यदेवको पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न भएको छ। राजधानीका विभिन्न छठघाटमा भक्तजन नदी किनारमा बसेर गाईको दूध, फूल र जलको अघ्र्यसहित सूर्यको दर्शन गरी पूजा आराधना सम्पन्न गरे।
सूर्य पूजा, जसलाई भिन्सरघाट पनि भनिन्छ, सूर्योदयकालमा घाटमा बसेर गरिन्छ। भक्तजन सूर्यको दर्शन गर्दा लुगासहित कम्मरसम्मको पानीमा डुबेर आराधना गर्छन्। जल र सूर्यलाई जीवनदायिनी शक्ति मान्ने धार्मिक विश्वासअनुसार पर्वको विधि पालना गर्दै विशेष पूजा गरिन्छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने र इच्छाएको फल प्राप्त हुने विश्वास धार्मिक शास्त्रमा छ। विवाहिता महिला–पुरुषले पति–पत्नीको दीर्घायुको कामना गर्ने र अविवाहितले सुयोग्य वर वा वधु प्राप्तिका लागि पूजा गर्ने चलन छ। सन्तान प्राप्तिका कामनाले पनि यो पर्व मनाउनेहरूको संख्या बढाउँछ।
छठ व्रत कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। बर्तालुले यस अवधिमा माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने परम्परा पालना गर्छन्। आज, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ।
काठमाडौंमा विशेषगरी गुह्येश्वरी, कमलपोखरी, थापाथली लगायतका स्थानमा बनाइएका छठघाटलाई सजाएर तयारी गरिएको थियो। छठ समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहका अनुसार, सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परापछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर बर्तालुले पूजापाठ पूरा गरे।
सूर्यदेवको आराधनाको परम्परा महाभारतकालीन पाण्डवहरूसँग पनि जोडिएको विश्वास छ। मिथिलामा पाण्डवहरूले अज्ञातवासमा सफलताको कामना गर्दै सूर्यपूजा गरेकाले त्यसैबाट परम्परा सुरु भएको जनविश्वास छ। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी र फलस्वरूप अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी बताइन्छ।
नेपालको राजधानीमा पनि २०४६ सालपछि मिथिला संस्कृतिमा आधारित छठ पर्व मनाउन सुरु भएको थियो। विसं २०६२ मा श्री छठ पूजा समिति गुह्येश्वरी दर्ता भएपछि काठमाडौंमा विशेष रौनक सुरु भयो। पछिल्लो समय कमलपोखरीमा भव्य रूपमा छठ पर्व मनाउने प्रचलन बढेको छ।

