काठमाण्डौ— मुस्ताङ प्रशासनले जिल्लाको उच्च हिमाली क्षेत्रमा आगामी दिनहरूमा प्रतिकूल मौसम हुने अनुमान भएपछि पदयात्रीलाई यात्रा नगर्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गर्दै जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान गरेकोले सतर्क रहन चेतावनी सहित जानकारी गराएको हो।
सूचना अनुसार, मुस्ताङका उच्च हिमाली क्षेत्रहरू—जस्तै मुस्ताङ–डोल्पा, ५,८०० मिटर उचाइको याकखर्क, ५,४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६,००० मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास तथा मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक—मा हल्कादेखि भारी हिमपात हुने सम्भावना रहेको विभागको प्रक्षेपण छ।
मुख्य जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, यसका कारण पदयात्रा नगर्न विशेष अनुरोध गरिएको छ।
साथै सूचना अनुसार जिल्लाका अन्य भागहरूमा समेत बुधबारसम्म वर्षा र हिमपातको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमान हेरेर उच्च सतर्कताका साथ यात्रा गर्ने व्यवस्था गर्न प्रशासनले अनुरोध गरेको छ।

