काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी’ आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूविरुद्ध छानबिन गरी कारबाही अघि बढाउन र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
महासङ्घका अनुसार, यस्ता घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कदम नचालिँदा समाजमा दण्डहीनता बढ्ने र व्यवसायीहरूको मनोबल कमजोर हुने खतरा छ। महासङ्घले भनेको छ कि यसले रोजगारी सिर्जना, राजस्व सङ्कलन, लगानी प्रवर्द्धन र समग्र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने सम्भावना छ।
केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिमा महासङ्घको प्रतिनिधित्व सुनिश्चित गर्न तथा सम्बन्धित जिल्ला–नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिताका लागि पनि महासङ्घले सरकारसँग औपचारिक पत्राचार गरेको छ।
महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले छलफलमा भने, “शान्ति सुरक्षा नहुने हो भने स्थायित्व सम्भव छैन, स्थायित्व नहुँदा उद्यम र व्यवसाय सञ्चालन हुन सक्दैन र यसले अर्थतन्त्रमा गम्भीर असर पुर्याउँछ।”
निवर्तमान अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले देशको आर्थिक गतिविधि दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन र आत्मविश्वासका साथ क्रियाशील रहन सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए।
छलफलमा महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित स्थायी समिति र विभिन्न समिति/फोरमका सभापतिहरू सहभागी थिए।

