काठमाडौं — देशभर अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली छ। गण्डकी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ भने अन्य प्रदेशमा पनि मौसम क्रमशः बदली बन्दै गएको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी क्षेत्रहरूमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ। तराई भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात हुन सक्ने जनाएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना पनि रहेको चेतावनी दिइएको छ।
आज राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।
मौसमविद्हरूका अनुसार गण्डकी प्रदेशका केही उच्च भूभागमा भारी वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन गतिविधिमा असर पर्ने सम्भावना छ। महाशाखाले यस्तो अवस्थामा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
आज सूर्योदय बिहान ६ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ५ बजेर २३ मिनेटमा हुनेछ।

