काठमाडौं — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई प्रतिस्पर्धात्मक खेल हुँदै छन्।
पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुँदैछन्। खेल अहिले बिहान ११:४५ बजेबाट सुरु हुनेछ। चितवनलाई कुशल मल्लले नेतृत्व गर्नेछन् भने कर्णालीको कप्तानी सोमपाल कामीले सम्हाल्नेछन्।
दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने तालिका छ। यो खेल दिउँसो ४ बजे सुरु हुनेछ। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् भने पोखराका कप्तान कुशल भुर्तेल हुन्।
सोमबारको उद्घाटन खेलमा साबिक च्याम्पियन जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो।
क्यानका अनुसार एनपीएलका हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्रीमा राखिएका छन्। मंसिर १ देखि २७ सम्म सञ्चालन हुने यस संस्करणमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्।

