काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले विजयी यात्रालाई निरन्तरता दिँदै काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
विराटनगरका लागि जर्ज मुन्सेले ३६ रनको सानदार पारी खेले । नरेन भट्टले २४, मार्टिन गुप्टिलले २५, बसिर अहमदले १९ तथा लोकेश बमले १४ रन जोडे। बलिङतर्फ काठमाडौँका शाहव आलमले दुई विकेट लिए भने करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन जोडीएको थियो। काठमाडौँका आदिल आलम ४८ रनमा अविजित रहे भने बेन चाल्सवर्थले ३२ र सन्तोष यादवले २६ रन जोडे। विराटनगरका मर्चेन्ट डे लाङले दुई विकेट निकाल्दा सन्दीप लामिछाने, शुभम् रन्जाने र सूर्य तामाङले एक–एक विकेट लिए।
लगातार दोस्रो खेल जितेको विराटनगर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तीन खेल खेलेको काठमाडौँ भने दोस्रो हारसँगै तेस्रो स्थानमा छ। सुदूरपश्चिम टिम शीर्ष स्थानमा यथावत् छ।
यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गरेको थियो।

