काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कमजोर पार्ने विभिन्न खेलहरू तिव्र रुपमा चलिरहेको भन्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सबै पुस्ता एकजुट हुनुपर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित जेन–जीसँगको ‘नेकपा–जेनजी अन्तरसंवाद कार्यक्रम’ मा बोल्दै उनले राष्ट्रपहिलो भन्ने भावना सबैमा जागृत गराउन आवश्यक रहेको बताए।
प्रचण्डले जेन–जी समूहले उठाउँदै आएका विषय, एजेन्डा र युवाशक्तिलाई संगठित रूपमा अघि बढाएर ‘नेपाली र नेपाललाई विजय गराउने’ लक्ष्यसहित राजनीतिक रूपान्तरणमा महत्वपूर्ण भूमिकाखेलेको उल्लेख गरे। उनले युवालाई वैचारिक, राजनीतिक र भावनात्मक रूपमा नयाँ नेपालको नेतृत्व सम्हाल्न सक्षम बनाउनेतर्फ पार्टी अग्रसर रहेको जानकारी दिए।
आगामी निर्वाचनमा ठूलो संख्यामा युवालाई अवसर दिने तयारी भएको प्रचण्डले बताउँदै जेन–जी पुस्ताले सुशासनका लागि उठाएको पहलले देश नयाँ चेतनातर्फ अघि बढ्न प्रेरित भएको धारणा व्यक्त गरे।
कार्यक्रमका क्रममा प्रचण्डले केही युवाहरूलाई औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए।

