काठमाडौँ । बायाँ हाते स्पिनर रन्जित कुमारको उत्कृष्ट बलिङ प्रदर्शनले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ठूलो जीत दिलाएको छ। उनले एकै खेलमा पाँच विकेट लिएपछि अपराजित यात्रामा रहेको विराटनगर किंग्सलाई ४८ रनले पराजित गर्दै चितवनले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्यो।
बुधबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.५ ओभरमै १२६ रनमा अलआउट भयो। विराटनगरका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिसीले ३० रन बनाउँदै नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेपनि हार टार्न सकेनन्। साम हिजलेटले २२ रन जोडे भने आठ खेलाडी दोहोरो अंकमा प्रवेश गर्न असफल भए।
चितवनका रन्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर पाँच विकेट लिए—उनी यस सिजन एकै खेलमा ‘फाइभ–फर’ लिने पहिलो बलर बने। कमल सिंह ऐरीले २ विकेट लिए भने सोहेल तनविर, सैफ जैब र कप्तान कुशल मल्लले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। बोपाराले ३८ बलमा ६५ रनसहित पारीको नेतृत्व गरे; उनले ३ चौका र ४ छक्का प्रहार गरे। सैफ जैबले ३२, देव खनालले २८ तथा कप्तान कुशल मल्लले अविजित २० रन जोडे। बोपारा–मल्लले छैटौं विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गरे।
विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिएका थिए।
लगातार तीन खेल जितेर शान्दार सुरुवात गरेको विराटनगरले पहिलो हारसँगै ४ खेलबाट ६ अंकमा रोकिएको छ। चितवनले भने दोस्रो जितसँगै ३ खेलमा ४ अंक जोडेर तालिकामा उक्लिएको छ।

