काठमाडौँ । वैकल्पिक राजनीतिको अग्रणी शक्ति मानिएको विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग औपचारिक रूपमै एकीकरण गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले प्रस्तुत गरेको ‘वैकल्पिक राजनीतिक दलहरूको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’लाई सर्वसम्मत पारित गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय अनुमोदन गरेको हो।
उपाध्यक्ष परियारका अनुसार हाल निरन्तर बढिरहेको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकतासँगै नवयुवाहरूको ‘जेनजी विद्रोह’ आन्दोलनले दुई दलबीचको एकीकरण प्रक्रियालाई थप तीव्र बनाएको हो। “निर्वाचनमा पहिलो शक्ति भएर जनताको विकास, समृद्धि र सुशासनको चाहनालाई परिणाममुखी बनाउने लक्ष्यसहित एकीकरण गरिएको हो। यसले राष्ट्रिय सन्देश दिन्छ,” परियारले टिप्पणी गरेका छन्।
दुवै दलका शीर्ष नेतृत्वबीच एकीकरणका प्राविधिक पक्ष चाँडै टुंग्याइने जनाइएको छ। औपचारिक घोषणाअन्तर्गत एकीकृत पार्टीबारे सार्वजनिक कार्यक्रम आगामी आइतबार राष्ट्रिय सभा गृहमा आयोजना हुने छ।
वैकल्पिक राजनीतिका प्रणेता तथा विवेकशील आन्दोलनका संस्थापक स्व. उज्वल थापाको योगदान, विवेकशील आन्दोलनको दस्तावेजीकरण तथा प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउने साझा उद्देश्यलाई एकीकृत निर्णयको आधार मानिएको प्रवक्ता आशुतोष प्रधानले जानकारी दिएका छन्।

