सुनसरी — सहरी विकासमन्त्री कुलमान घिसिङले देशलाई समृद्धितर्फ डोरेन योग्य र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्। धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, एक हजार २०० प्राचीन अष्टगुरु रिन्पोछे लिला विश्व शान्ति पूजा तथा ङ्युङ्ने व्रत–२०८२’ को समापन समारोहमा आइतबार बोल्दै उनले नयाँ सोचका व्यक्तिहरू र वैकल्पिक शक्ति एकजुट भएर अघि बढे मात्र मुलुकले रूपान्तरणको मार्ग समात्ने बताउँदै त्यो अवसर नगुमाउन आग्रह गरे।
मन्त्री घिसिङले गाली–गलौज र आरोप–प्रत्यारोपले होइन, एकता र सहकार्यले मात्र राष्ट्र अघि बढ्ने स्पष्ट पारे।
“हामी एकअर्कालाई गाली गरेर होइन, एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो। सबै मिलेर अघि बढ्दा मात्र देश समृद्धितर्फ जान्छ,” उनले भने।
आगामी निर्वाचनलाई देश परिवर्तनको महत्वपूर्ण मोडका रूपमा वर्णन गर्दै उनले जनतालाई जिम्मेवारीपूर्वक सही नेतृत्व छान्न आग्रह गरे।
“नेपाललाई अन्धकारबाट उज्यालोतिर लैजान सही नेतृत्व छान्नुपर्छ,” मन्त्री घिसिङले भने, “सही व्यक्ति सही समयमा सही स्थानमा पुग्यो भने मात्र देश विकासले गति लिन्छ।”
उनका अनुसार राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन; सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र युवाका लागि रोजगारी सिर्जना भएन भने वास्तविक उन्नति सम्भव हुँदैन।
वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको उल्लेख गर्दै मन्त्री घिसिङले देशलाई स्थायित्वतर्फ लैजान सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

