काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफल बनाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सकारात्मक भूमिका खेलिदिन अनुरोध गरेकी छन्।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र निर्वाचन तयारीलाई समान प्राथमिकताका साथ अघि बढाइरहेको सरकारका प्रयासबारे जानकारी दिँदै सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
उनीले गत भदौ २३ र २४ गतेका ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिले सरकार प्रमुखको जिम्मेवारी सम्हाल्नुपरेको उल्लेख गर्दै, ती घटनाका सम्बन्धमा छानबिनलाई सरकार प्राथमिकतामा राखेर अघि बढेको धारणा राखिन्।
पूर्वराष्ट्रपति भण्डारीले सरकार ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सक्षम रहेको विश्वास व्यक्त गरिन्।
उनको भनाइमा, देशलाई निकास दिने एक मात्र मार्ग निर्वाचन नै भएकाले सबै पक्षले अर्जुनदृष्टि बनाएर अघि बढ्नु जरुरी छ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार पूर्वराष्ट्रपति भण्डारीले कार्की नेतृत्वको सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्ने पूर्ण विश्वास व्यक्त गरेकी छन्।

