काठमाडौँ । सडक विस्तारमा अपेक्षाकृत प्रगति हुन नसकेपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक रूपमा बन्द गरेर निर्माण प्रक्रिया तीव्र बनाउने तयारी गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघि सरोकारवालासँगको छलफलमा काम अघि नबढ्नुको प्रमुख कारण लगातारको सवारी आवागमन भएको भन्दै समाधानका लागि सडक बन्द नै आवश्यक देखिएको जनाएको थियो।
निर्माण व्यवसायी तथा आयोजनाका इन्जिनियरहरूको अनुसार सवारी चाप रोक्न नसकिँदा कालोपत्रे र सडक चौडाइ विस्तारका कामले गति लिन सकेका छैनन्। त्यसैले मङ्सिर २४ देखि पुस १ सम्म दैनिक बिहान १०:३० बजेदेखि अपराह्न ३:३०बजेसम्म पाँच घण्टा सडक बन्द गर्ने निर्णय काठमाडौँ र धादिङ प्रशासनले संयुक्त रूपमा जारी गरेको सूचनामा उल्लेख छ।
त्रिभुवन राजपथअन्तर्गतको नागढुङ्गा–नौबिसे खण्ड हाल कालोपत्रेको अन्तिम चरणमा छ।
विशेष गरी नागढुङ्गा–पिप्लामोड भाग साँघुरो भएकाले ठूलो निर्माण उपकरण, ढुवानीका साधन र सामग्री एकैपटक परिचालन गर्न कठिन रहेको मन्त्रालयले जनाएको छ।
धादिङतर्फको गल्छी–गजुरी खण्ड पनि जोखिमपूर्ण र साँघुरो भएकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने अवस्था आएको छ।
कुन–कुन स्थानमा यातायात रोकिन्छ ?
सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोड र पोखरेभिर क्षेत्रमा मङ्सिर २४–पुस १ सम्म दैनिक पाँच घण्टा आवागमन रोकिँनेछ।
काठमाडौँबाट नौबिसेतर्फ जाने गाडी नागढुङ्गा चेकपोस्टमा रोकिने छ भने मुग्लिङतर्फबाट आउने सवारी खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी, बैरेनी र मासटारमा रोकिनेछन्।
बन्दमा पनि कसलाई छुट, कस्ता सवारीलाई छुट ?
एम्बुलेन्स, सुरक्षा निकाय, दमकल र शववाहनजस्ता अत्यावश्यक सवारीसाधनलाई ट्राफिक प्रहरीमार्फत आवागमन सहजीकरण गरिनेछ।
नागढुंगा-नौबिसे सडकको वैकल्पिक मार्ग
साना तथा मझौला सवारी साधनले आवश्यक परेमा निम्न वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्—
सीतापाईला–भीमढुङ्गा–रामकोट–धार्के मार्ग
सामाखुसी–टोखा–छहरे सडक
अन्य स्थानीय वैकल्पिक मार्ग
यात्रुका लागि सूचना
यात्रुको जानकारीका लागि बन्द रहने समयभन्दा अगाडि वा पछि यात्रा मिलाउन आग्रह गरिएको छ । थुनिएका सबै सवारीसाधनलाई अपराह्न ३:३० बजेपछि मात्र मार्ग खुला गरिने प्रशासनले जनाएको छ।

