काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको विध्वंश र मानवीय हताहतिबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आगामी सातादेखि उच्च राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ।
आयोगको म्याद सकिन लागेका बेला आयोगका पदाधिकारीहरूले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी म्याद थपका लागि आग्रह गरेका छन्। भेटका क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी भइरहेको जानकारी गराएका छन्।
अध्यक्ष कार्कीका अनुसार आयोगले सुरक्षा निकायका प्रमुखहरूसँग बयान लिइसकेको छ। अब त्यस समयमा सत्तामा रहेका राजनीतिक दलका उच्च तहका नेताहरूसँग बयान लिने चरणमा आयोग प्रवेश गरेको छ।
हालसम्म आयोगले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै कार्कीले प्रशासनिक र सुरक्षा निकायका सबै सरोकारवालाको बयान सकिएको बताएका छन्। अब राजनीतिक तहका उच्च नेताहरूको बयान लिएर प्रतिवेदन लेखनमा केन्द्रित हुने उनले बताए।
आगामी आइतबारदेखि राजनीतिक नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरिएको आयोगले जनाएको छ। नयाँ कार्यादेशअनुसार तोकिएको समय अपुग हुने देखिएकाले म्याद थप आवश्यक रहेको विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको कार्कीले जानकारी दिए।
ओली र लेखकसहितका नेताहरूको बयान सकिँदा आयोगको समयावधि समाप्त हुने भएकाले प्रतिवेदन लेखनका लागि थप समय आवश्यक पर्ने आयोगको ठहर छ। साथै जेन–जी आन्दोलनसँग भएको सम्झौताअनुसारको क्षेत्राधिकारमा थप अध्ययन र काम गर्नुपर्ने भएकाले म्याद थपको आवश्यकता परेको आयोगले जनाएको छ।

