काठमाडौं । सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक किट पार्टनर ‘टी–१० स्पोर्ट्स्’को सहकार्यमा आयोजित कार्यक्रममा सोमबार जर्सी सार्वजनिक गरिएको हो।
कार्यक्रममा विश्व भ्रमणमा रहेको आईसीसी टी–२० विश्वकप ट्रफी समेत अनावरण तथा प्रदर्शनीमा राखिएको थियो।
नेपालले यसपटक तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो। कार्यक्रममा सहभागी खेलाडी, पदाधिकारी तथा क्रिकेटप्रेमीले नयाँ जर्सी र विश्वकप ट्रफी अवलोकन गरेका थिए।

