काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीका डा. अरनिको पाँडेले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।
पाँडेले सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक परिस्थितिमा बन्द सूचीमा रहिरहनु उपयुक्त नदेखिएको उल्लेख गर्दै समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम हटाउने निर्णय गरेको जानकारी दिएका हुन्।
उक्त निर्णय आइतबार राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा समेत जानकारी गराइसकेको बताएका छन्।
उनले लेखेका छन्, ‘म सधैँ देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिन सक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्द सूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्द सूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ। मलाई बन्द सूचीमा पुर्याउने सबै साथीहरूलाई धन्यवाद दिँदै रास्वपालाई आगामी चुनावमा जिताउने अभियानमा केन्द्रित हुनेछु।’
डा. पाँडेसँगै रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ। यसअघि गायिका त्रिशाला गुरुङ, अभिनेता आसिफ शाह, व्यवसायी चन्द्र ढकाल पुत्र सचिन ढकाल, पर्वतारोही टासी शेर्पा र अभियन्ता डा. महेन्द्र लावतीले पनि बन्द सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए।
निर्वाचन आयोगले बन्द सूची संशोधनका लागि पुस २८ गतेसम्मको समय सीमा दिएको छ।

