काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले मंगलबार उम्मेदवारको टुंगो लगाउने भएको छ। यसका लागि नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाईएको छ। बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्नुका साथै अन्य राजनीतिक दलसँगको चुनावी तालमेलबारे समेत निर्णय गर्ने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
निर्वाचनमा सिट बाँडफाँटको विषयमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलगायत दलसँग छलफल भइरहेको र कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने व्यक्तिका विषयमा बैठकले औपचारिक निर्णय गर्ने महतले बताए ।

