काठमाडौँ । लगातार दुई दिनदेखि तनावग्रस्त बनेको पर्साको वीरगञ्जको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। धनुषामा मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ जलाइएको घटनालाई लिएर दुई समुदायबीच प्रदर्शन भएपछि आइतबारदेखि अशान्त वीरगञ्ज लयमा फर्किन लागेको हो ।
अवस्था नियन्त्रणमा लिन सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा थियो। तर पूर्णरूपमा अवस्था नियन्त्रणमा आउन नसकेकोले बिहान ८ बजेसम्म कर्फ्यू लम्बाईएको थियो। हाल सबै क्षेत्र शान्त रहेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए।
केहीबेर अवस्था मूल्याङ्कन गर्दै सर्वपक्षीय बैठकमार्फत निषेधाज्ञा थप गर्ने वा हटाउने विषयमा निर्णय गरिने उनले जनाए।
तनावको कारण बनेको घटनाअनुसार धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मुस्लिम बस्तीमा रहेको मस्जिदमा गत शनिबार तोडफोड गरिएको र मुस्लिम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरान जलाइएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सो घटनापछि वीरगञ्जमा पनि आइतबारदेखि दुई फरक समुदायले प्रदर्शन गर्दै आएका थिए।
सोमबार वीरगञ्जमा निषेधाज्ञा उल्लङ्घन गर्दै प्रदर्शन गर्ने दुवै समुदायका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

