काठमाडौँ। अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रूपमा सञ्चालन हुने आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा अभ्यास गर्ने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार स्वदेशमै दुई चरणको तयारी क्याम्प सम्पन्न गरेपछि नेपाली टोली श्रीलङ्का र भारत प्रस्थान गर्नेछ। श्रीलङ्कामा नेपाली टोलीले त्यहाँको ‘ए’ टोलीसँग अभ्यास खेल खेल्नेछ भने भारतको मुम्बईमा मुम्बई क्रिकेट एसोसिएसनको टोलीसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।
हाल रुपन्देहीस्थित ‘एक्स्ट्राटेक ओभल’मा अभ्यासरत नेपाली टोली अर्को साता श्रीलङ्का जानेछ।
करिब एक साता त्यहाँ अभ्यास गरेपछि अन्तिम तयारीका लागि टोली भारतको मुम्बई जानेछ।
नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

